नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामै राख्नुपर्ने मागसहित उच्च अदालत पाटनमा निवेदन दिएका छन्।
चौधरीले सोमबार उक्त निवेदन दर्ता गराएका थिए भने मंगलबार न्यायाधीश टंकप्रसाद गुरूङको इजलासमा सुनुवाइ हुने तय भएको छ।
शाखा अधिकृत विष्टले वैशाख १७ गते सर्वोच्च अदालतको लेटरप्याडको दुरुपयोग गर्दै डिल्लीबजारस्थित प्रहरी र कारागार कार्यालयलाई पत्राचार गरेका थिए। उक्त पत्रमार्फत उनले रेशम चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न निर्देशन दिएका थिए, जसको आधारमा चौधरीलाई प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले पक्राउ गरेको थियो।
यसपछि सर्वोच्च अदालत प्रशासनले सोही दिन अर्को पत्र जारी गर्दै विष्टको पत्र अनधिकृत रहेको जनाएको थियो।
विष्टविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धानपछि जेठ ५ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो। अदालतले सोही दिन उनलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो, र उनले धरौटी बुझाएर छुटेका थिए।
तर रेशम चौधरीले सो धरौटीमा रिहा गर्ने आदेश उचित नभएको भन्दै बदर गरिनु पर्ने र विष्टलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनः निवेदन दिएका हुन्।