• २०८३ असार ५
  • 2026 June 19, Friday

सदनअघि विपक्षी दलहरू बैठकमा, राप्रपालाई बहिष्कार

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरू बैठकमा जुटेका छन्। बैठक अहिले संसद भवन नयाँ बानेश्वरस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा जारी रहेको प्रचण्ड सचिवालयले जानकारी दिएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एस, रास्वपा र नेसपाका शीर्ष नेताहरू सहभागी छन्। माओवादीबाट अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल, उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, नेकपा एसबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपाबाट महेन्द्रराय यादवलगायत नेता उपस्थित छन्।

यद्यपि बैठकमा संसदको पाँचौं ठूलो दल राप्रपालाई भने समावेश गरिएको छैन। प्रचण्ड सचिवालयका अनुसार, बैठकमा संविधान र गणतन्त्रको पक्षमा रहेका प्रतिपक्षी दलहरू मात्र समेटिएका कारण राप्रपालाई नबोलाइएको हो। राप्रपा पछिल्लो समय राजा फर्काउने आन्दोलनमा सक्रिय रहेकाले विपक्षी गठबन्धनका बैठकहरूबाट बाहिरिएको छ। तर, गृहमन्त्रीको राजीनामाको मागमा भने राप्रपाको पनि समर्थन रहेको बताइएको छ।

यसैबीच, आजै प्रतिनिधिसभाको बैठक पनि बस्ने कार्यक्रम रहेको छ। बैठकअघि थप रणनीति तय गर्न विपक्षी दलहरूबीच छलफल भइरहेको हो। यसअघि प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै छलफल गरे पनि प्रचण्डले आफ्नो अडानबाट पछि हट्न मानेका थिएनन्।