प्रचण्ड अस्पताल पुगेर झूटो आशा देखाएर गएको भन्दै ‘नक्कली प्रचण्ड’ का रूपमा परिचित कलाकार घनश्याम गौतमको फेसबुकमा परिवारले मार्मिक पोस्ट राखेको थियो ।मृत्युपुर्व लेखिएको उक्त पोस्टमा
कमरेड प्रचण्डज्यू !
क्यान्सर लागेर थलिएको मान्छेलाई झूटो आशा देखाएर, वचन दिएर हिँड्नुभयो।
अलिकति पनि दया लागेन तपाईंलाई??
वचन दिँदै गर्दा कहीँ कतै तपाईंलाई आफ्नै छोराको याद आएन? यस्तो अवस्थाको बिरामीसँग झूटो वचन दिएर हिँड्ने मानिसमाथि जनताले आशा र विश्वास गर्नु के उचित हुन्छ?? अझै पनि वचन पूरा गर्न आह्वान गर्छु-क्यान्सर पीडित मेरा श्रीमान्लाई दिनुभएको वचन पूरा गर्नुहोस्। उहाँ काठमाडौं क्यान्सर सेन्टर, ताथली भक्तपुर अस्पतालको बेडमा पीडाले छटपटाइरहनुभएको छ !”
क्यान्सरबाट पीडित बिरामीलाई झूठा वाचा गरेर प्रचण्डलाई कस्तो दया नलागेको र उनलाई आफ्नै छोराको सम्झना किन नआएको भनेर उनकी श्रिमतीले प्रश्न तेर्साएकी थिइन् ?
पोस्टमा परिवारले क्यान्सर पीडित गौतमलाई दिएको वचन पूरा गर्न प्रचण्डलाई आग्रह समेत गरेका थिए।
तर,यतिबेला कलाकार घनश्याम गौतमको उपचारका क्रममा राति १२-१० बजे भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा निधन भएको परिवारले पुष्टि गरेको छ।
गौतम दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए। उनको फेसबुक एकाउन्टबाट पनि निधनको खबर सार्वजनिक गरिएको छ। परिवारले राति १ बजे श्रद्धाञ्जलीसहित उनको तस्बिर सेयर गरेको थियो।
‘मेरी बास्सै’ टिभी सिरियलमा ‘नक्कली प्रचण्ड’ को भूमिकाबाट परिचित गौतमले विभिन्न हास्य कार्यक्रम र स्टेज प्रस्तुतीहरूमा समेत काम गरेका थिए। डेढ महिनाअघि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका उनी केही दिनअघि क्यान्सर सेन्टरमा सारिएका थिए। यसरी सधैं सबैलाई हसाई राखेका घनश्याम गौतमको निधनले सबैलाई मर्माहत बनाएको छ । साथै उनको निधनसंगै यो पोस्ट पनि भाइरल भैरहेको छ ,जसका कारण सामाजीक सञ्जालमा धेरैले उनलाई चर्को गालि गरिरहेका छन् ।
