• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सरल सहयात्रीको आरोप : मन्त्रीहरूले जनता बेच्ने प्रवृत्तिका कारण राजावादी सडकमा

काठमाडौं। नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले सरकारको कमजोरीका कारण राजावादीहरूलाई सडकमा उत्रिन मौका मिलेको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टीको नेवाः तामाङ केन्द्रित उपत्यका जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै सहयात्रीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदको दुरुपयोग गरेको आरोप लगाए।

उनले भने, “गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा सरकारमा बसेर अत्यन्तै गैरजिम्मेवार ढंगले काम गरिरहेका छन्। कांग्रेस–एमालेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दैछ। देशका नागरिकहरूलाई मन्त्रीहरूको संरक्षणमा बेच्ने प्रवृत्तिले नै राजावादीहरूलाई सडकमा उत्रन प्रेरित गरेको हो।”

उनले गृहमन्त्रीले पदको मर्यादा भुलेको र सरकार नै नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता ठूला काण्ड ढाकछोप गर्न बनाइएको दाबी पनि गरे।

सहयात्रीले न्यायपालिकाप्रति पनि असन्तुष्टि जनाउँदै भने, “जिउँदो मानिसलाई इँटाभट्टामा हालेर जलाउनेलाई समेत दोषी ठहर गर्न नसक्नुले न्याय प्रणालीको अवस्था प्रष्ट भएको छ।”