• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गभर्नर नियुक्तिविरुद्धको रिट आज सुनुवाइमा नपुग्दै स्थगित

काठमाडौं।  डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णयविरुद्ध दायर रिटमाथि आज (मंगलबार) सुनुवाइ हुन नसकेको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा सो रिटको पेसी तोकिएको थियो। तर, उक्त इजलासमा सूचीबद्ध ३१ मध्ये ३०औँ नम्बरमा परेको यो रिट हेर्न नसकिएको सर्वोच्च अदालतले जनाएको छ।

जेठ १२ गते अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको गभर्नर नियुक्तिविरुद्ध रिट दायर गरेका थिए। सो रिटमा सर्वोच्च अदालतले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशसम्बन्धी छलफलका लागि उपस्थित हुन भनेको थियो।