• २०८३ असार १०
  • 2026 June 24, Wednesday

रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार ल्याउने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देहीबाट काठमाडौँस्थित डिल्लीबजार कारागारमा सार्ने प्रक्रिया अघि बढेको छ।

रूपन्देही जिल्ला कारागार कार्यालयले अदालतको आदेशसहित कारागार व्यवस्थापन विभागलाई लामिछानेलाई डिल्लीबजार सार्न अनुरोध गर्दै पत्राचार गरेको जेलर सुरेश भण्डारीले जानकारी दिए। “हामीले अदालतको आदेशसहित अनुरोध पठाइसकेका छौं,” उनले भने।

यद्यपि विभागले अझै निर्णय नगरेको उनले बताए। जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पनि आइतबार पत्राचार गरिएको पुष्टि गरे। “लामिछानेले निवेदन दिनुभएको थियो, त्यसअनुसार पत्राचार भएको हो। तर निर्णय आएको छैन,” उनले भने।

कारागार व्यवस्थापन विभागकी निर्देशक तथा प्रवक्ता कल्पना घिमिरेले भने आफूलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिइन्। उच्च अदालत बुटवल इजलासले चैत २२ गते रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।