• २०८३ असार ५
  • 2026 June 19, Friday

गगन थापाको भनाइ–संविधान संशोधन गर्दै संघीय लोकतन्त्र बलियो बनाउँछौं

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका कमजोरीहरू सुधार्दै त्यसै व्यवस्थालाई सुदृढ बनाउने पक्षमा पार्टी उभिएको बताएका छन्।

मंगलबार बाँकेको नेपालगञ्जमा आयोजित कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सातबुँदे सहमति कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति आलोचना गरे।

“कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरेका थियौं, तर अहिले हामीले त्यो बाचा पुरा गरेका छैनौं,” उनले भने, “दुवै पार्टी सरकार सञ्चालनमा तल्लीन भएर संविधान संशोधनको प्रतिबद्धता नै भुलेका छौं।”

गत असार १७ गते कांग्रेस र एमालेबीच सातबुँदे सहमति भएको थियो, जसमा संविधान संशोधन प्रमुख एजेन्डा थियो। तर सहमतिपछि सो प्रक्रिया अघि नबढेको उनले उल्लेख गरे।

महामन्त्री थापाले संविधान संशोधनबारे तत्काल छलफल थाल्नुपर्ने र वर्तमान अन्योलताबाट बाहिरिन सातबुँदे सहमतिअनुसार कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।