काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेका छन्। पाण्डेले आफ्नो निलम्बन महानगर प्रमुख बालेन शाहको आदेश पालना गर्दा भएको दाबी गरेका छन्। उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णय अनुसार आफूलाई निलम्बन गरिएको बताएका छन्।
निलम्बनपछिको प्रतिक्रिया व्यक्त गर्दै पाण्डेले शान्ति सुरक्षा कायम राख्न र तोडफोड हुन नदिन गरिएको प्रयासकै कारण निलम्बनमा परेको बताएका छन्। उनले मंगलबार दिउँसोमात्रै निलम्बनको पत्र थमाइएको जानकारी दिँदै त्यसबाट आफू स्तब्ध भएको बताएका छन्।
आफूले कुनै व्यक्तिगत गल्ती नगरेको दाबी गर्दै उनले आफू सही वा गलत भन्ने मूल्याङ्कन आम जनताले गर्ने बताएका छन्। “मैले जे गरें, त्यो जनताको हितमा थियो भन्ने विश्वास छ,” पाण्डेले भने।
निलम्बनसँगै पाण्डेबाट सबै जिम्मेवारी खोसिएको छ।
यस क्रममा पाण्डेले आफ्नी आमा हालै ब्रेन ह्यामरेज भएर शिक्षण अस्पतालमा उपचाररत रहेको बताउँदै यस्तो संवेदनशील अवस्थामा पनि मानवीयता नदेखाइएकोमा गुनासो गरेका छन्। “आमा जीवनमरणको दोसाँधमा हुनुहुन्छ, म भने अझै अफिसमै छु,” उनले भावुक स्वरमा भने।
उक्त विषयमा अहिलेसम्म मेयर बालेन शाहसँग कुनै छलफल नभएको र आफू कसैलाई दोष दिन चाहँदैनन् भन्दै उनले जनताको विश्वासमा काम गरेको आत्मविश्वास व्यक्त गरेका छन्।
करिब तीन वर्षको कार्यकालमा अनेक चुनौती सामना गर्दै आएको स्मरण गर्दै उनले कर्तव्यबाट कहिल्यै पछि नहटेको बताएका छन्।
राजु पाण्डेले २०७९ भदौमा तत्कालीन प्रमुख धनपति सापकोटालाई विस्थापित गर्दै महानगर प्रहरी बलको नेतृत्व सम्हालेका थिए। उनी २०५० सालमा सेवा प्रवेश गरेका थिए र २०७९ मा उपरीक्षक हुँदै प्रमुख पदमा नियुक्त भएका थिए।
हाल महानगर प्रहरी बलको निमित्त नेतृत्व एसपी विष्णु जोशीले सम्हालेका छन्