गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नहरूको उत्तर संसदमै दिने इच्छा व्यक्त गरेका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सो प्रकरणबारे प्रश्न उठाएका थिए। जवाफ दिने क्रममा गृहमन्त्री लेखकले समितिमै सबै सांसदको जिज्ञासाको समाधान सम्भव नभएकाले संसदको पूर्ण बैठकमै जवाफ दिने व्यवस्था मिलाइदिन आग्रह गरे।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरूविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनको विषयमा चासो देखाइएको उल्लेख गर्दै, यो चासो केवल समितिका सदस्यमा सीमित नभएकाले संसदको बैठकमा सम्पूर्ण प्रश्नहरूको उत्तर दिने स्पष्ट पारे।
भिजिट भिसा काण्डमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोप विपक्षी दलहरूले लगाउँदै आएका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरिरहेका छन्।