• २०८३ असार ५
  • 2026 June 19, Friday

छानबिन समिति गठनमा सत्तापक्षको असहमति, प्रतिनिधिसभा बैठक अन्योलमा

काठमाडौँ । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक वा संसदीय समिति गठनको विपक्षी दलहरूको माग सत्ता पक्षले स्वीकार नगरेपछि प्रतिनिधिसभामा जारी अवरोध हट्ने सम्भावना अहिलेसम्म देखिएको छैन।

मंगलबार दुई पटक सूचना टाँसिए पनि बैठक सञ्चालन नगरी स्थगित गरिएको प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाएका छन्। तर सत्ता पक्ष र विपक्षी दलहरूबीच कुनै सहमति नजुटेकाले संसद् सञ्चालन हुने सम्भावना कमजोर देखिन्छ।

विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन्। तर, पछिल्लो समय उनीहरू छानबिन समिति गठनलाई प्राथमिकतामा राख्दै आएका छन्। उनीहरूको भनाइ छ — समितिबिना संसद् अगाडि बढ्न सक्दैन।

यता, सत्तापक्ष भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेकाले छुट्टै समिति आवश्यक छैन भन्ने अडानमा अडिएको छ। यसैले मंगलबारको बैठक पनि सूचना टाँस्दै स्थगित गरिएको थियो।

सभामुख घिमिरेले दलहरूसँग अनौपचारिक छलफल गरे पनि औपचारिक बैठक आह्वान गरेका छैनन्। संघीय संसद् सचिवालयका महासचिव पद्मराज पाण्डेले औपचारिक बैठक नबोलाइएको जानकारी दिएका छन्।

विपक्षीहरूले भिजिट भिसासम्बन्धी अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनको छानबिनका लागि समिति गठन अपरिहार्य भएको दोहोर्‍याउँदै आएका छन्। जेठ १३ र १४ गते पनि यही विषयलाई लिएर संसद् अवरुद्ध गरिएको थियो।

सुरुमा गृहमन्त्रीको राजीनामालाई मुख्य माग बनाएका विपक्षीहरूले पछिल्ला दिनमा भने राजीनामाले मात्रै समस्या समाधान नहुने भन्दै छानबिन समितिको गठनमा जोड दिएका छन्।