• २०८३ असार ५
  • 2026 June 19, Friday

गृहमन्त्री दोषी छन् भनेका होइनौं, नैतिक जिम्मेवारीको कुरा उठाएका हौं : सांसद कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन आग्रह गरेकी छन्।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता देखिएकाले उनीले पदबाट राजीनामा दिएर मार्ग खोल्नुपर्ने बताइन्।

“यदि गृहमन्त्रीज्यूले सुरुमा नै राजीनामा दिनुभएको भए, त्यो उहाँको नैतिक उचाइको परिचायक हुने थियो,” कार्कीले भनिन्, “देशमा यति ठूलो मानव तस्करीको काण्ड सार्वजनिक भइसकेको छ, प्रतिपक्ष दलहरू एकजुट भएर विरोध गरिरहेका छन्।  यस्तो अवस्थामा १५ दिनका लागि राजीनामा दिन सकिन्छ, पछि छानबिनपछि फर्केर आउन सक्नुहुन्छ।”

उनले रास्वपाले गृहमन्त्रीलाई दोषी ठहर नगरेको स्पष्ट पार्दै, यो विषय नैतिकताको हो भन्ने धारणा राखिन्। “हामीले गृहमन्त्री दोषी छन् भनेर भनेका होइनौं,” उनले भनिन्, “तर सुसंस्कृत राजनीतिक अभ्यासमा विश्वास गर्ने नेताबाट नैतिक जिम्मेवारीको अपेक्षा गर्नु स्वाभाविक हो।”