• २०८३ असार ५
  • 2026 June 19, Friday

स्थानीय सरकारका उपप्रमुख र उपाध्यक्षहरू विराटनगरमा जुट्दै

विराटनगर । मुलुकभरका २९१ स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरू विराटनगरमा एकत्रित हुने भएका छन्।

विराटनगर महानगरपालिकाको आयोजनामा यही शुक्रबार र शनिबार हुने भेलामा सहभागीहरूले स्थानीय सरकार सञ्चालनका उत्कृष्ट अभ्यासहरू साझा गर्नुका साथै बनाइएका कानुनहरूको कार्यान्वयनबारे अनुभव आदान–प्रदान गर्नेछन्।

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीका अनुसार, भेलामा कोशी प्रदेशका सबै पालिकाका उपप्रमुख/उपाध्यक्षहरू, देशभरका ६ महानगर, ११ उपमहानगर, मधेश प्रदेशका ७२ पालिका, बागमती प्रदेशका ४१ पालिका, र अन्य दुई प्रदेशका केही नगरपालिका गरी कुल २९१ पालिकाका प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ। उपमेयर कार्कीका अनुसार सम्मेलनमा स्थानीय तहले बनाएका कानुनको प्रभावकारी कार्यान्वयनको समीक्षा गरिनेछ। साथै, न्यायिक समितिको क्षेत्राधिकार वृद्धि गर्न संघीय तथा प्रदेश सरकारसमक्ष घोषणापत्रमार्फत पहल गर्न लबिङ गरिने बताइएको छ।

भेलामा संवैधानिक व्यवस्थाअनुसार विकेन्द्रित न्याय प्रणालीमा देखिएका चुनौतीहरू, न्यायिक समितिको संयोजन र पदाधिकारीहरूले वहन गर्नुपर्ने भूमिका, आवश्यक ज्ञान, सीप र कार्यदक्षता सम्बन्धी विषयमा पनि विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।