• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सापकोटा पक्राउको डरले माओवादी संसद् खोल्न राजी भयो : शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाको सम्भावित पक्राउको डरले माओवादी संसद् सञ्चालनमा सहमत भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै शाहीले लेखेका छन्, “माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी तयार भएको देखिन्छ।”

उनका अनुसार हालै गृहमन्त्री रमेश लेखक र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच भएको भेट, भिजिट भिसाका बहानामा गृहमन्त्रीलाई जोगाउने प्रयास, र अग्नि सापकोटा तथा सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने सहमतिसहित माओवादी गृहमन्त्रीको राजीनामा मागबाट पछि हटेको देखिएको छ।

शाहीले यो घटनाक्रमलाई शक्ति र सत्ताको प्रभाव कति बलियो हुन्छ भन्ने उदाहरणको रूपमा चित्रण गरेका छन्। साथै, यस्ता अवस्थाहरू दोहोरिन नदिन राजनीतिक तथा प्रणालीगत सुधार अपरिहार्य भएको उल्लेख गरेका छन्।