• २०८३ असार ५
  • 2026 June 19, Friday

माधव नेपालविरुद्ध मुद्दा दर्तापछि एकीकृत समाजवादी नेतृत्व अन्य दलहरूसँग छलफलमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि पार्टीका शीर्ष नेताहरू अन्य दलहरूसँग छलफलमा जुटेका छन्।

संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलका नेताहरूबीच छलफल भइरहेको हो। एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले दलहरूसँग समन्वय र साझा धारणा बनाउन छलफल भइरहेको पुष्टि गरेका छन्।

छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला लगायत सहभागी छन्।

नेपालको इतिहासमै पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि राजनीतिक वृत्तमा यसको गम्भीर चर्चा भइरहेको छ।

बिहीबार अख्तियारले पतञ्जलि योगपीठको नाममा हदबन्दी छुटमा खरिद गरिएको जग्गा निजी हाउजिङ कम्पनीलाई बिक्री गर्न स्वीकृति दिइएको भन्दै माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

यो घटनालाई लिएर विभिन्न दलका नेताहरूले आश्चर्य र चासो व्यक्त गर्दै प्रतिक्रिया दिएका छन्।