काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता डा. बेदुराम भुसालले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोधका आधारमा गरिएको दाबी गरेका छन्।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा खरिद–बिक्री प्रकरणमा अनियमितता आरोपसहित नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भुसालले सो आरोप लगाएका हुन्।
“मुद्दामा दुई पक्ष छन्,” भुसालले भने, “पहिलो, अध्यक्ष नेपालप्रति राजनीतिक पूर्वाग्रह देखिएको छ, जसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं। दोस्रो, कानुनी पक्ष पनि छ, जसमा हामी दृढतापूर्वक लड्नेछौं।”
पतञ्जलि योगपीठले हदबन्दी छुटमा खरिद गरेको जग्गा केही महिनामै हाउजिङ कम्पनीलाई बिक्री गर्न दिएको स्वीकृतिलाई अख्तियारले अनियमितता ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले नेपालसहितका आरोपितहरूबाट १८ करोड ५८ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ।