काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने नियतसहित कदम चालेको आरोप लगाएका छन्।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि अध्यक्ष नेपालले प्रतिक्रिया दिँदै यस्तो आरोप लगाएका हुन्।
“मेरो नियत कहिल्यै भ्रष्टाचार गर्ने रहेन, मबाट त्यस्तो कुनै आदेश पनि दिइएको छैन,” अध्यक्ष नेपालले भने, “तर केपी ओलीको नियत मेरो राजनीतिक जीवन समाप्त पार्ने नै हो। उहाँले पहिले पनि यस्ता प्रयासहरू गर्नुभएको थियो। अहिले पनि बदलाको भावना बोकेरै चलिरहनुभएको छ।”
नेपालमाथि पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा बिक्री गर्न दिँदा अनियमितता भएको आरोप छ। अख्तियारले उनलाई १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो।