• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

साढे ५७ अर्ब लागतको मुक्तिनाथ केबलकार परियोजनामा लगानी स्वीकृत

काठमाडौं। लगानी बोर्ड नेपालको ६४औं बैठकले मुक्तिनाथ केवलकार परियोजनालगायत ऊर्जा, यातायात, सूचना प्रविधि र उद्योगसम्बन्धी थुप्रै परियोजनाहरू अघि बढाउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बालुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी–नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण हुने ८१.041 किलोमिटर लामो केवलकार परियोजनाको लगानी स्वीकृति दिएको हो।

उक्त केवलकार परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (BOOT) मोडेलमा “मुक्तिनाथ दर्शन प्रालि”ले निर्माण गर्ने प्रस्ताव गरेको हो। कुल लागत ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ अनुमान गरिएको छ।

बैठकले परियोजना विकासका सर्तहरू तय गर्न प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। उक्त केवलकार सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा पर्यटन प्रवर्द्धन र रोजगारी सृजनामा उल्लेखनीय योगदान हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, बैठकले ७५० मेगावाट क्षमताको १६० अर्ब लागत अनुमान गरिएको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना थप अध्ययन गर्ने निर्णय गरेको छ।

नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि दक्षिण कोरियाको कोरेल संस्थासँग सम्झौता गर्न लागिएको र उक्त सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गरिने पनि बैठकले निर्णय गरेको छ।

अन्य स्वीकृत आयोजना:

  • ४३.२ मेगावाट क्षमताको छिलुङ खोला जलविद्युत् आयोजना

  • २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना

  • ४४ मेगावाटको बकान खोला जलविद्युत् आयोजना

त्यस्तै, बैठकले जनकपुरमा रिफाइन्ड इडिबल ओइल (खानेतेल) उद्योग स्थापना तथा विभिन्न स्थानमा सूचना प्रविधि पार्क स्थापना गर्न प्राप्त प्रस्तावहरू अघि बढाउने निर्णय पनि गरेको छ।