• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

एनआरएन नागरिकता दिन छुट्टै विधेयक आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गैरआवासीय नेपालीलाई नागरिकता दिन संविधानको भावना अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिइने भए पनि राजनीतिक अधिकार भने नदिइने स्पष्ट पारे।

गृहमन्त्रीका अनुसार विधेयक विभिन्न मन्त्रालयमा राय र परामर्शका लागि पठाइसकिएको छ र चाँडै मन्त्रीपरिषद्को सहमतिसहित संसदमा पेश गरिनेछ।

साथै उनले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको नागरिकता विधेयक, २०८१ छिटो निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै यसबाट विभिन्न पीडामा रहेका नागरिकको समस्या समाधान हुने बताए।

उनका अनुसार सरकारले अध्यागमनसम्बन्धी ऐनलाई पनि संशोधन गरेर नयाँ ऐन बनाउने तयारी गरिरहेको छ। त्यस्तै, नेपाली आमाबाट जन्मिएर नेपालमै स्थायी बसोबास गरिरहेका, तर बाबुको ठेगाना नभएका, बेपत्ता वा सहयोग नगरेका व्यक्तिलाई पनि जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता दिने व्यवस्था गरिने उनले जानकारी दिए।