काठमाडौँ । सप्तकोशीमा सशस्त्र प्रहरी बलका दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय, हलचोक पुगेका छन्।
गृहमन्त्रीसँगै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासमेत घटनाको विवरण लिन हलचोक पुगेका हुन्। गृहमन्त्री लेखकले कार्यवाहक संगठन प्रमुख एआइजी नारायणदत्त पौडेलबाट घटनाबारे ब्रिफिङ लिनेछन्, किनभने सशस्त्र प्रहरी प्रमुख (आईजिपी) राजु अर्याल विदेशमा रहेका छन्।
सशस्त्र प्रहरी बलका अनुसार बिहीबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यासका क्रममा दुई जना गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।
शुक्रबार बिहान डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले हरदेव राजवंशीको शव फेला परेको जानकारी दिए। शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा भेटिएको हो। अर्का बेपत्ता सुरज साउदको खोजी कार्य जारी छ। दुवै गोताखोरले हालैका वर्षहरूमा विशेष गोताखोर तालिम लिई उद्धार कार्यमा संलग्न हुँदै आएका थिए।
घटनास्थलमा खोज तथा उद्धार कार्यका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीबाट डिएसपीको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना टोली परिचालन गरिएको छ। त्यसैगरी नं. ६ गण सप्तरीबाट पनि विपद् व्यवस्थापन तालिम प्राप्त २० जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसबाहेक थप खोजीका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा पाँच जना अनुभवी गोताखोर टोली बिहीबार राति नै घटनास्थलतर्फ पठाइएको थियो।