काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा एक युवकले आफ्नै बुबा र छिमेकीको कोदालो प्रहार गरी हत्या गरेका छन्।
शुक्रबार बिहान करिब १०:३० बजे २५ वर्षीय हेमराज थारुले आफ्ना ५० वर्षीय बुबा जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन्। उनीहरूले दुवैजनामाथि एउटै कोदालो प्रयोग गरी प्रहार गरेका थिए। घटनास्थलमै दुवैको मृत्यु भएको वडा सदस्य विकास क्षेत्रीले जानकारी दिए।
“म त घटनास्थल पुगेर पनि हेर्न सकिनँ, कोदालोले हानेर ढालेर पछि काटेर टाउको नै अलग बनाइएको रहेछ,” वडासदस्य क्षेत्रीले भने। घटनापछि इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले अभियुक्त हेमराजलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनास्थलबाट हत्या प्रयुक्त कोदालो बरामद गरेको छ। हत्याको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको जनाइएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
स्थानीयवासी घटनाबाट स्तब्ध छन्, गाउँमा त्रास र तनावको अवस्था छ। वडा सदस्य लक्ष्मीकुमारी हरिजनका अनुसार हेमराज केही समयअघि मानसिक समस्याबाट ग्रस्त थिए र उपचारपछि केही सुधार देखिएको थियो। उनका अनुसार हेमराजले बुबासँग बिहे नगराइदिएको विषयमा पटक–पटक विवाद गर्ने गर्थे।
“उनी अविवाहित थिए, बिहे नगराइदिएको भन्दै छोरा बुबासँग झगडा गर्थे भन्ने कुरा पहिले पनि सुन्न पाइन्थ्यो। आज त बिहानै यस्तो भयावह खबर आयो,” हरिजनले भनिन्।