• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अध्यक्ष प्रचण्डको आरोप: ‘माधव नेपालमाथिको मुद्दामा प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै भने, “प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ, र अख्तियारले पनि कतै गम्भीर प्रश्न जन्माएको छ।”

उनले ललिता निवास प्रकरणमा यसअघि अख्तियारले नीतिगत निर्णयहरू छानबिनको दायराभित्र नपर्ने भनेर लेखेको चिठी आफैले पढेको दाबी गरे। “माधवजीले गरेको त नीतिगत निर्णय नै हो, अहिले त्यसैमा फेरि प्रवेश गरेको देख्दा चकित लाग्छ,” प्रचण्डले भने, “यदि यो नै मान्यता हो भने, कोही पनि छानबिनको दायरामा आउन सक्छ।”