• २०८३ असार ५
  • 2026 June 19, Friday

भिजिट भिसा प्रकरणमा संसद् अवरोध अन्त्य गर्न देउवा–प्रचण्डबीच छलफल हुने

काठमाडौँ । गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणका कारण प्रतिनिधिसभामा देखिएको अवरोध समाधान गर्न सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट भएको भिसा अनियमितताबारे छलफल गर्न प्रचण्डले देउवासँग कुराकानी गर्न लागेका हुन्। संसद्मा जारी गतिरोधबारे शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले देउवासँग छलफल गर्न प्रचण्डलाई जिम्मा दिएको थियो।

यसअघि आजै प्रचण्डले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेटवार्ता गरेका थिए। सोही अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् गतिरोध अन्त्य गर्न देउवासँग छलफल गर्न लागिएको बताए।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि दुवै शीर्ष नेताबीच छिट्टै भेटवार्ता हुने जनाएका छन्। यद्यपि छलफलको समय तय भइनसकेको उनको भनाइ छ।संसद् सञ्चालनका लागि सत्तापक्ष र विपक्षी दलहरू सहमति खोज्न सक्रिय भएपछि प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा, निष्पक्ष छानबिनका लागि संसदीय समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै आएका छन्।