काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध संवाद र सहकार्यबाट अन्त्य गर्ने प्रयास भइरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दलहरूबीचको संवाद सकारात्मक दिशातर्फ उन्मुख रहेकाले आइतबारको बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरे ।
‘हामी संसद्लाई पेलेर अघि बढाउने पक्षमा छैनौँ,’ बर्तौलाले भने, ‘संसद्लाई सञ्चालन गर्न संवाद र सहकार्यलाई प्राथमिकता दिइरहेका छौँ ।’ भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको विपक्षीको मागबारे टिप्पणी गर्दै उनले संवैधानिक निकायमाथि अविश्वास गर्न नहुने धारणा राखे ।
‘संवैधानिक निकायहरूलाई कमजोर बनाउने काम भए लोकतान्त्रिक अभ्यास नै कमजोर हुन्छ,’ बर्तौलाले भने, ‘हामी ती निकायलाई स्वतन्त्र र प्रभावकारी रूपमा काम गर्न दिनुपर्छ भन्ने पक्षमा छौँ ।’ उनले सहमतिका लागि दलहरूबीच निरन्तर संवाद भइरहेको पनि बताए।