• २०८३ असार ५
  • 2026 June 19, Friday

प्रचण्डले विपक्षी दलहरूको बैठक आह्वान गरे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन्।

प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्ने निर्णय गरेका हुन्। बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन्, तर सत्तापक्ष यस विषयमा सहमत हुन सकेको छैन। यस मुद्दा उठेसँगै, प्रतिनिधि सभाको बैठक १३ जेठदेखि प्रभावित भइरहेको छ। १५ जेठमा विपक्षी दलहरूले बजेट प्रस्तुत गर्न प्रतिनिधि सभामा अवरोध नगरे पनि, त्यसपछि बजेटमाथि छलफल हुन सकेको छैन।

संसद्को अवरोध समाधान गर्न शनिबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो। उक्त भेटमा संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो। सत्तारुढ दलका नेताहरूसँगको संवादको विषय प्रचण्ड विपक्षी दलहरूलाई ब्रिफिङ गर्नेछन्।