• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कालोपट्टी बाँधी कर्मचारीहरू देशव्यापी आन्दोलनमा

काठमाडौं। निजामती कर्मचारीहरूले संघीय निजामती ऐनको माग गर्दै आजदेखि कालोपट्टी बाँधेर देशभरि आन्दोलन थालनी गरेका छन्। विभिन्न राजनीतिक दलका कर्मचारी ट्रेड युनियनहरूको सञ्जाल, संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालको आह्वानमा यो आन्दोलन सुरु गरिएको हो।

सञ्जालमा नेपालका प्रमुख कर्मचारी संगठनहरू जस्तै निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, मधेशी निजामती कर्मचारी मञ्च, र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन आवद्ध छन्।

कर्मचारीहरूले संघीय निजामती सेवा ऐनलाई कर्मचारीमैत्री बनाउन विभिन्न मागहरू अघि राखेका छन्। विशेषत: कर्मचारीको वृत्ति विकास र पदोन्नतिको प्रक्रियामा असर गर्ने प्रावधानहरू हटाएर मात्र विधेयक पारित गर्न सरकार र प्रमुख दलहरूमा दबाब दिइरहेका छन्। यसैबीच, कर्मचारीहरूको असन्तुष्टि विशेष रूपमा अतिरिक्त सचिवको पदावधि निर्धारण नगरेको विषयमा रहेको छ।

निजामती कर्मचारी युनियनका सचिव झविन्द्र पोखरेलले भने, “संघीय निजामती सेवा ऐनमा सीमित स्वार्थ समूहको प्रभुत्व हावी भएको कारण आम कर्मचारीहरूको हितमा आउने ऐन नआउन सक्ने स्थिति सिर्जना भएको छ।” उनले भने, “न्यूनतम मागहरूको सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गर्न थप आन्दोलनका कार्यक्रमहरू अघि सारिने छन्।”