काठमाडौं। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनबिना संसद्को अवरोध नहटाउने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन्।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले, सत्तारुढ दल कांग्रेस र एमालेले विपक्षीको प्रस्ताव अस्वीकार गरेकाले संसद् अवरुद्ध राख्ने निर्णय गरेको हो।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलको बारेमा जानकारी गराएका थिए।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार, प्रचण्डले सत्तापक्ष उच्चस्तरीय छानबिन समिति गठनमा सहमत भए संसद्को गतिरोध अन्त्य गर्न आफूहरू तयार रहेको प्रस्ताव राखेको बताए। तर देउवा उक्त प्रस्तावमा सकारात्मक नरहेको जानकारी प्रचण्डले बैठकमा दिएका थिए।
पाण्डेले भने, “प्रचण्डले सत्तापक्ष सहमत भए अवरोध हटाउने विकल्प दिनुभएको रहेछ, तर देउवा त्यसमा सहमत नभएको बताउनुभयो। त्यसैले हामीले अवरोध कायम राख्ने निष्कर्ष निकालेका छौं।”