काठमाडौँ । संसद् अवरोध अन्त्यका लागि कांग्रेस–माओवादीबीचको वार्ता निष्कर्षविहीनप्रतिनिधिसभामा जारी गतिरोध समाधान गर्न नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरूबीच भएको छलफल कुनै निष्कर्षमा नपुगी सकिएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र माओवादीतर्फबाट उपमहासचिव वर्षमान पुन, शक्ति बस्नेत र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।
माओवादी प्रमुख सचेतक पाण्डेका अनुसार छलफलमा कुनै सहमति हुन सकेन। “भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने हाम्रो मागमा अडिग छौं, तर सत्तापक्ष तयार छैन,” उनले बताए।
कांग्रेस नेता कार्कीले भने बैठक सकारात्मक भएको जनाए। “सहमति अझै भएको छैन, तर संवाद सकारात्मक छ। छलफल जारी छ,” उनले भने। यसअघि शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि संवाद भएको थियो, तर त्यस बैठकबाट पनि सहमति जुट्न सकेको थिएन।
शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस नेताहरू खड्का, कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग गरेको छलफल पनि निष्कर्षविहीन रह्यो। भिजिट भिसा प्रकरणको छानबिन गर्न विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै आएका छन्। तर सत्तापक्ष भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै नयाँ समिति आवश्यक नभएको अडानमा कायम छ।