• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कारबाही अगाडि नबढाउन निर्वाचन आयोगलाई नेसपाको पत्राचार

महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले अदालतको मानहानी हुने गरी कुनै पत्राचार र कारबाही नगर्न निर्वाचन आयोगलाई जानकारी गराएको छ । नेसपा (नयाँ शक्ति) को लेटर हेड, चिन्ह दुरुपयोग नगर्न आयोगले नेसपालाई सचेत गराएको थियो ।

नेसपाले २०७८ वैशाख १५ गते निर्वाचन आयोगमा दल दर्ता गरेको र त्यसपछि आयोगले साउन १२ गते दलको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरेको स्पष्ट पारेको छ। नेसपाका अनुसार, आयोगमा दल दर्ता गर्दा ‘नयाँ शक्ति’ समावेश थिएन, त्यसैले त्यसबारे कारबाही अघि बढाउन नहुने जानकारी आयोगलाई दिइएको छ।

निर्वाचन आयोगको २०७८ वैशाख १५ गतेको निर्णयअनुसार दल दर्ता नं. १८२ अन्तर्गत समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो भने २०७९ साउन १२ गतेको निर्णयअनुसार नाम परिवर्तन भई नेपाल समाजवादी पार्टी दर्ता गरिएको हो।

सूचनामा भनिएको छ कि यो दल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) होइन। साथै, नेपाल समाजवादी पार्टीका पदाधिकारीसम्बन्धी विवाद हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको पनि आयोगलाई जानकारी गराइएको छ।