• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीमध्ये एकजनाबाहेक सबैसँग पासपोर्ट भेटिएन

काठमाडौँ । अमेरिका प्रवेश गरेपछि निष्कासनमा परेका ३५ जना नेपालीहरू चार्टर विमानमार्फत आइतबार राति काठमाडौँ फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओम्नि एयर इन्टरनेशनलको विमानमार्फत अवतरण गरेका ती यात्रुहरूमध्ये ३२ जना पुरुष र ५ जना महिला रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तीमध्ये ३५ जना अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए भने दुई जना वैधानिक बाटोमार्फत गएका थिए। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार एक जना डीभी लटरीमार्फत अमेरिका पुगेका थिए भने अर्का एक जना अध्ययनका लागि गएका थिए। तर पछि उनीहरू पनि निष्कासनमा परेका थिए।

उनीहरू अमेरिका अन्तर्गतको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर नेपाल फर्किएका हुन्। डिपोर्ट गरिएकामध्ये एक जनासँग मात्र नेपाली राहदानी रहेको पाइएको छ। बाँकीले अमेरिकी अध्यागमन विभागले जारी गरेको ‘ट्राभल डकुमेन्ट’ का आधारमा यात्रा गरेका थिए।

ती व्यक्तिहरू २०२२ देखि २०२५ को मार्चसम्म विभिन्न समयमा अमेरिका प्रवेश गरेका थिए। बिचौलियाको सहयोगमा पनामा हुँदै मेक्सिकोको बोर्डर पार गरेर अमेरिका प्रवेश गरेका उनीहरू अमेरिका पुगेपछि शरणार्थीको मान्यता पाउन संघर्षरत थिए। तर मान्यता नपाएपछि अमेरिकाको इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (ICE) द्वारा लामो समय हिरासतमा राखिएर निष्कासनमा परेका थिए।

फर्किएका धेरैजसो व्यक्ति दाङ, पूर्वी रुकुम, पश्चिम रुकुम, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ र म्याग्दी जिल्लाका रहेका छन्। एक जना प्रहरीले जानकारी दिए अनुसार उनीहरूले अमेरिका पुग्न बिचौलियालाई ८० लाख रुपैयाँसम्म तिरेको बताएका छन्, तर अमेरिका पठाउने गिरोहबारे जानकारी दिन अस्वीकार गरेका छन्।

एसपी कुँवर भन्छन्, “उहाँहरूले अमेरिका पठाउने गिरोहबारे कुनै विवरण खुलाउनुभएन। ”डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि हालसम्म कुल १६३ जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरिसकेको छ।