
काठमाडाैं । नेकपा (एमाले) को प्रभावशाली भ्रातृ संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया थप पेचिलो बनेको छ। पार्टी हेडक्वार्टरले सर्वसम्मत नेतृत्व चयनका लागि गरेको प्रयासलाई अस्वीकार गर्दै अध्यक्ष पदका लागि प्रकाश पौडेलले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएपछि महाधिवेशन निर्वाचनतर्फ मोडिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्वले डा. सुजन कडरियालाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेको चर्चाका बीच पौडेलले प्रतिस्पर्धाको बाटो रोजेका हुन्। यसलाई पार्टी नेतृत्वको आदेशको अवज्ञाका रूपमा हेरिएको छ। यद्यपि, पौडेलले आफू र आफ्नो समूह लोकतान्त्रिक विधि र स्वच्छ प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको बताएका छन्।
“सर्वसम्मतिको कुरा हल्ला मात्रै हो, चुनाव हुन्छ”
सर्वसम्मत नेतृत्व चयन किन हुन सकेन भन्ने प्रश्नमा पौडेलले स्पष्ट जवाफ दिएका छन्। “सर्वसम्मतिको कुरा केवल चर्चा मात्रै हो, मैले उम्मेदवारी दर्ता गरिसकेको छु। अब चुनाव अवश्य हुन्छ,” उनले भने। उनले युवा र विद्यार्थी संगठनमा प्रतिस्पर्धाको माध्यमबाट नेतृत्वमा आउनु स्वाभाविक प्रक्रिया भएको र यसले संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
ओलीको आशीर्वाद सबैलाई छ । पार्टी अध्यक्ष ओलीको चाहनाविपरीत उम्मेदवारी दिएको भन्ने विषयमा सोधिएको प्रश्नमा पौडेलले कूटनीतिक जवाफ दिएका छन्। उनले भने, “हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली सम्पूर्ण समर्थक र कार्यकर्ताको अभिभावक हुनुहुन्छ। उहाँको आशीर्वाद र साथ कुनै एक व्यक्तिलाई मात्र नभएर सबै प्रतिस्पर्धीलाई बराबर छ। म पनि नेकपा एमालेको कार्यकर्ता हुँ, त्यसैले मप्रति मेरो नेतृत्वको साथ र सद्भाव छ।”
नेतृत्व चयनका लागि बुधबार मतदान हुने भनिए पनि सर्वसम्मतिको प्रयास र उम्मेदवारी दर्ता प्रक्रिया लम्बिएकाले मतदान हुन सकेको छैन। हिजो राति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो। महाधिवेशन प्रतिनिधिहरूका अनुसार, सम्भवतः आज (बिहीबार) राति वा भोलि (शुक्रबार) बिहानै मतदान सुरु हुनेछ। ३२ वर्षे उमेर हदका कारण यस पटक अध्यक्ष पदमा दुई मुख्य प्रतिस्पर्धी, प्रकाश पौडेल र डा. सुजन कडरियाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। पौडेलले आफूले संगठनमा लामो समयदेखि विभिन्न पदमा रहेर गरेको योगदान र विद्यार्थीका मुद्दामा आफ्नो स्पष्ट एजेन्डाका कारण जित्नेमा विश्वस्त रहेको बताए।
अनेरास्ववियुको नयाँ नेतृत्व चयनको प्रक्रियामा उपाध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। खुला उपाध्यक्ष पदमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बम प्रतिस्पर्धामा छन्। महिला उपाध्यक्षतर्फ अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईंले उम्मेदवारी दिएका छन्।
महासचिव पदमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेल प्रतिस्पर्धी छन्। उपमहासचिवमा कमल जोशी, अमर शाही र प्रेमिका शाही छन्। सचिव पदमा भने ३५ भन्दा बढी उम्मेदवार छन्, जसमा रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी र राजेश ओली लगायत छन्।
एमालेको संशोधित नीति अनुसार अनेरास्ववियुमा ९ सदस्यीय पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ। तर हाल पदाधिकारीतर्फ मात्रै करिब ५० जना र केन्द्रीय सदस्यतर्फ ६ सयभन्दा बढीले उम्मेदवारी दिएका छन्।
यद्यपि पार्टी नेतृत्वले सर्वसम्मत नेतृत्व चयनको निर्देशन दिएको थियो, तर चुनावको मागसहित नाराबाजी भएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो। पौडेल र डा. सुजन कडरियाको नेतृत्वमा दुई फरक खेमाबीच प्रतिस्पर्धा देखिएको छ। भारी वर्षातका कारण निर्वाचन प्रक्रिया भने ढिलो भइरहेको छ।
हेर्नुहाेस् भिडिओ :