नेकपा (एमाले) निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा केही समयअघि विद्युतीय प्रणालीमार्फत मतदान थालिएको हो। मतदानको लागि दिउँसो ४ बजेसम्म समय तोकिएको छ भने परिणाम पनि आजै सार्वजनिक हुने बताइएको छ।
महाधिवेशनमा अध्यक्ष पदका लागि निवर्तमान सचिवहरू प्रकाश पौडेल र डा. सुजन कडरिया बीच प्रतिस्पर्धा भइरहेको छ। दुबै नेताले आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
पौडेल समूहबाट महिला उपाध्यक्षका उम्मेदवार आरती भट्टराई र खुला उपाध्यक्षका विकास श्रेष्ठ छन्। यस्तै, महासचिव पदमा आरके रोमस र उपमहासचिवमा कमल जोशी प्रतिस्पर्धी छन्।
कडरिया समूहतर्फबाट महिला उपाध्यक्ष पदमा अञ्जना शिवाकोटी र खुला उपाध्यक्ष पदमा राजकुमार ढकाल उम्मेदवार छन्। महासचिवमा दीपक धामी र उपमहासचिवमा प्रेमिका शाहीले उम्मेदवारी दिएका छन्।
यो महाधिवेशनमा उपाध्यक्ष पदमा ९, महासचिवमा ३, उपमहासचिवमा ३ र सचिव पदमा ३६ जनाको उम्मेदवारी परेको छ।
९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यीय कमिटीका लागि ५०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् भने १८ जना भने निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशन गत जेठ २५ गतेदेखि सुरु भएको हो र यसमा १ हजार ५३४ जना प्रतिनिधिहरू सहभागी छन्।