
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि पहिलो पटक प्रतिक्रिया दिएका छन्।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारसहित सात जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि परियारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘मैले मेरो पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु । अहिले प्रश्न उठेकाले मैले अदालती प्रक्रियाको सम्मान गर्दै सोको विधिसम्मत रूपमा सामना गर्नेछु। सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ।’
परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकका रूपमा कार्यरत छन्। अख्तियारले उनीहरूलाई सामाखुसी करिडोरअन्तर्गत ढल निर्माणको ठेक्कामा अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरेको हो। सो प्रकरणमा सरकारी ढुकुटीलाई करिब ४३ करोड रुपैयाँ क्षति पुगेको दाबी गरिएको छ।