• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

दुर्गा प्रसाईंको थुनछेक अन्तिम चरणमा, सरकारी वकिलको जवाफपछि आदेश हुने

तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बिहीबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले उठाएका मुद्दामा जवाफ दिने कार्यक्रम छ। उक्त जवाफ सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले लगायत चार जनाले दिनेछन्।

प्रसाईंको पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी, टंक दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र मनिष पाण्डेले अदालतमा बहस प्रस्तुत गरेका थिए।

सरकारी वकिलहरूको जवाफपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थुनामा रहेका प्रतिवादीहरूलाई रिहा गर्ने वा पुनः थुनामा पठाउने आदेश जारी गर्नेछ। कुल ५० जना प्रतिवादीमध्ये ३९ जना अहिले पनि थुनामा छन्, जसमा दुर्गा प्रसाईँ पनि पर्छन्। उनीहरूमाथि राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।