• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध सार्वजनिक सम्पत्ति प्रयोगमा अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएक हुन् ।
उजुरीमा काठमाडौं महानगरले टेन्डर प्रक्रिया नअपनाई करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट जडान गरेको दाबी गरिएको छ।

उजुरीमा उल्लेख गरिएअनुसार, महानगरले कुनै प्रतिस्पर्धा, टेन्डर वा कोटेसन बिना लिफ्ट जडान गरेको छ, जुन विशेषतः मेयर बालेन साहकै प्रयोगका लागि गरिएको भनिएको छ।

सफलका अनुसार आफू लिफ्टको आवश्यकता वा प्रयोगको विपक्षमा होइनन्। तर, मेयर साहले प्रक्रिया मिचिएकोमा आपत्ति जनाएका छन्।

सफलले सार्वजनिक खरिद ऐन २०६३ र खरिद नियमावली २०६४ को स्पष्ट उल्लंघन भएको दाबी गरेका छन्। उनले भनेका छन्, “सरकारी निकायहरूले निर्माण वा खरिद गर्दा प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन गर्नु अनिवार्य हुन्छ। यस केसमा त्यो पालना गरिएको छैन।”

सफलले महानगरले लिफ्ट खरिद गर्न प्रयोग गरेको टेन्डर प्रक्रिया, निर्माण कम्पनीको विवरण, भुक्तानीका फाइल, बिल–भौचर लगायत सबै कागजात आयोगले झिकाएर छानविन गर्न माग गरेका छन्।

उनले अख्तियारसँग आग्रह गरेका छन् ‘लिफ्ट जडान सम्बन्धी प्रक्रिया छानबिन गरि भएको अनियमितता र सम्भावित भ्रष्टाचारमा आवश्यक कानुनी कारबाही गरियोस्।’

हेर्नुहोस् युवराज सफलले गरेको उजुरी पत्र