
न्याय परिषद्ले चारजना उच्च अदालतका न्यायाधीशहरूलाई विभिन्न उच्च अदालतहरूमा मुख्य न्यायाधीश पदका लागि सिफारिस गरेको छ।
शुक्रबार बिहान बसेको परिषद् बैठकले राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका रुपमा अगाडि बढाएको हो।
भट्टराई हाल जनकपुर उच्च अदालतको वीरगञ्जस्थित अस्थायी इजलासमा कार्यरत छन् भने उनलाई विराटनगर उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।
कुँवर हाल पाटन उच्च अदालतमा कार्यरत छन् र उनी त्यहीँको मुख्य न्यायाधीशका लागि सिफारिस भएका छन्।
भण्डारी हाल विराटनगर उच्च अदालतअन्तर्गत ओखलढुंगामा कार्यरत रहेर काजमा तुलसीपुर इजलासमा सेवा दिइरहेका छन्। उनलाई सुर्खेत उच्च अदालतको प्रमुख न्यायाधीशका रुपमा सिफारिस गरिएको छ।
त्यस्तै, तिवारी अहिले तुलसीपुर उच्च अदालतको बुटवल इजलासमा कार्यरत छन् र उनी त्यसै अदालतको मुख्य न्यायाधीशमा नियुक्त सिफारिस भएका हुन्।