• २०८३ असार ५
  • 2026 June 19, Friday

‘वाहियात प्रचार हो, सहमतिमा सापकोटा जोडिएको छैनन्’ – प्रचण्ड

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् सञ्चालनबारे सत्तारुढ दलहरूसँग भएको सहमति आफ्ना उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेका छन्।

शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल तथा केही माध्यमहरूमा सापकोटाविरुद्धको मुद्दा र संसद् अवरोध अन्त्यको सहमति आपसमा जोडेर गरिँदै आएको प्रचारलाई ‘वाहियात’ भने।

उनले भने, “त्यस्तो केही होइन, अग्नि (सापकोटा) को मुद्दासँग हाम्रो सहमतिको कुनै सम्बन्ध छैन।”

माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएको थियो। तर जेठ ३० गते कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गर्दै संसद् सञ्चालनमा सहमति जनाएको थियो।

प्रचण्डका अनुसार, एक महिनाभित्र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने सहमति भएपछि संसद् सञ्चालनमा सहमति गरिएको हो। निजामती सेवा ऐन, शिक्षा सेवा ऐन लगायत महत्वपूर्ण विधेयकहरूको ढिलाइ हुन नदिनका लागि संसद् खोलिएको उनले बताए।