
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नियन्त्रणमा रहेका युनुस अन्सारीले आफूलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका छन्।
नक्कली भारतीय नोट काण्डमा ६ वर्ष कैद सजाय भुक्तान गरेर जेठ १० गते नख्खु कारागारबाट रिहा भएका अन्सारीलाई सिआइबीले तत्कालै पुनः पक्राउ गरी हिरासतमा राखेको थियो। ब्युरोले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
यहि क्रममा अन्सारीले शुक्रबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्, जसको सुनुवाइ आइतबार न्यायाधीश दुर्गा प्रसाई ढुंगेलको इजलासमा हुने तय भएको छ।
युनुस अन्सारी सन् २०७६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाखभन्दा बढी नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए। उनले कतारबाट आएका तीन पाकिस्तानी नागरिकलाई लिन पुगेका बेला पक्राउ परेका थिए।
यसअघि पनि उनी नक्कली नोट प्रकरणमा समातिएका थिए र जेलमै एकपटक गोली प्रहारको सिकार भएका थिए, यद्यपि उनी त्यसमा घाइते मात्रै भएका थिए।