युरोपका विभिन्न मुलुकहरूमा वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिँदै लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति रूपक विश्वकर्मा हुन्, जो जाजरकोटको बारेकोट गाउँपालिका–७ स्थायी निवासी भई हाल काठमाडौं महानगरपालिका–९ मा बसोबास गर्दै आएका थिए।
पीडितहरूले वैदेशिक रोजगार विभाग, ताहाचलमा उजुरी दिएपछि विभागले उनीविरुद्ध अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाएको थियो।
उनीमाथि विभिन्न व्यक्तिहरूलाई फरक–फरक नाम बताउँदै ठगी गरेको आरोप छ। केहीलाई उनले आफ्नो वास्तविक नाम रूपक विश्वकर्मा भनेका थिए भने धेरैलाई दीपक पाण्डे, दिपककुमार पाण्डेय वा अमित केसी भनेर चिनाउने गरेका थिए।
अनुसन्धानका क्रममा थाहा भएअनुसार उनले “अचिभर्स कन्सल्टिङ सर्भिसेस” नामक संस्थाको भिजिटिङ कार्ड प्रयोग गरेर आफूलाई दीपक पाण्डे नामका म्यानेजिङ डाइरेक्टरका रूपमा चिनाउँथे। त्यस्तै, “अट्राक्टिभ ट्राभल्स एन्ड टुर्स” को कार्डमा चाहिँ आफूलाई अमित केसी भनेर प्रस्तुत गर्थे।
थप खुलासा भए अनुसार, उनले भारतीय आधार कार्ड समेत दिपककुमार पाण्डेय नामबाट बनाएका थिए र सोही नामको आधारमा काठमाडौंको बसुन्धरामा कार्यालय सञ्चालन गरेका थिए।
प्रहरीको अनुसन्धानमा उनीविरुद्ध १० वटा पक्राउ पूर्जी फेला परेका छन्। तीमध्ये ९ वटा वैदेशिक रोजगार विभागबाट र १ वटा आधार कार्डमा उल्लेख भएको नक्कली नामसम्बन्धी छ। साथै, जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप एक पूर्जी जारी गरिएको छ, जसमा दुई लाख ७० हजार रुपैयाँ ठगीको आरोप छ।
वैदेशिक रोजगार विभागमा रूपकमाथि ८२ लाख ५० हजार ५ सय रुपैयाँ ठगी गरेको उजुरी परेको छ। हालसम्म कुल ठगी रकम ८५ लाख ५० हजार ५ सय रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।
पक्राउपछि उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।