• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

ग्वार्को फ्लाईओभर चार दिनपछि सञ्चालन हुने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

ललितपुरको ग्वार्कोस्थित बहुप्रतीक्षित फ्लाईओभर अब चार दिनपछि सर्वसाधारणका लागि खुला हुँदैछ। मुख्य संरचना निर्माण पूरा भएसँगै सवारीसाधन सञ्चालनको अन्तिम तयारी भइरहेको छ। आगामी असार ६ गते (२०७५ साल) प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फ्लाईओभरको औपचारिक उद्घाटन गरिने कार्यक्रम तय भएको छ।

उद्घाटन लगत्तै फ्लाईओभरमार्फत सवारी सञ्चालन सुरु गरिनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको टोलीले गत शनिबार स्थलगत निरीक्षण गर्दै आवश्यक निर्देशन दिएको थियो।

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार, मुख्य संरचना सम्पन्न भएपछि लेन सेपरेटर राख्ने, रोड मार्किङ (लाइनिङ) जस्ता बाँकी कामहरू समेत पूरा भइसकेका छन्। अब ग्वार्को क्षेत्रमा हुने सवारी जाम घट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ।