• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अध्यक्ष लिङ्देनको आरोप– संसद्को कारबाही बलपूर्वक अघि बढाउन खोजियो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा बहस चलिरहेका विवादास्पद विषयहरूबारे समाधान नगरी संसद्को कारबाही जबरजस्ती अगाडि बढाउन खोजिएको प्रति आपत्ति जनाएका छन्।

सङ्घीय संसदमा आज आयोजित बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको निर्वाचन प्रणाली नै विविध मत र विचारलाई समेट्ने खालको रहेको भन्दै कुनै पनि विचारलाई निषेध गर्न नमिल्ने स्पष्ट पारे।

उनले भने, ‘हामीले यस्तो निर्वाचन प्रणाली बनाएका छौँ, जसअन्तर्गत एक सिट मात्रै भएको दलले पनि संसदमा प्रतिनिधित्व गर्न पाउँछ। त्यसैले साना वा ठुला दलबिच मर्यादामा कुनै भिन्नता हुनुहुँदैन।’

उनको भनाइमा गणितीय हिसाबले दलहरूबिच मत फरक भए पनि विचारको सम्मानमा सबै समान छन्। ‘सभामुख संसद्को अभिभावक हो। एक सिटको पनि, सय सिटको पनि अभिभावक हो,’ लिङ्देनले भने।अहिले संसदमा दुई ठुला दलबिच फरक मत कायम रहेको र त्यसको विरोध जारी रहेका बेला जबरजस्ती संसद् सञ्चालन गर्नु संसदीय मर्यादाको उल्लङ्घन हुने उनको भनाइ छ।

‘समस्या समाधान नगरी संसद् अगाडि बढाउनु उपयुक्त हुँदैन। यो अरूले पनि राम्रो देख्ने विषय होइन,’ उनले चेतावनी दिए।राप्रपा अध्यक्ष लिङ्देनले यस्तो परिस्थितिमा संसद्को बैठकलाई कर्मकाण्डका रूपमा मात्र अगाडि बढाउन खोजिएमा आफ्नो पार्टी त्यसमा सहभागी नहुने स्पष्ट पारे। ‘जबरजस्ती संसद् अगाडि बढाइन्छ भने राप्रपा त्यसमा सहभागी हुने छैन, बहिष्कार गर्छौं,’ उनले घोषणा गरे। त्यसका साथै उनले बैठक बहिष्कार गर्दा राप्रपाका सांसदहरूको नाममा आउने बैठक भत्ता राजस्वमा फिर्ता गर्नसमेत आग्रह गरे।