गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा रोक, नगर प्रहरीमार्फत गेटमै अवरोध सिर्जना

महोत्तरी । गौशाला नगरपालिकाकी उपप्रमुख रेनु कुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे कार्यालय पुगेकी उपप्रमुख महतोलाई नगरप्रहरीले गेटमै रोकेको उनले बताएकी छन्।

नगरप्रहरीले माथिको आदेश भन्दै प्रवेशमा अवरोध गरेपछि उपप्रमुख महतोले सामाजिक सञ्जालमा भिडियोमार्फत आफूमाथि अन्याय भएको गुनासो व्यक्त गरेकी छन्। भिडियोमा उनले नगरप्रहरीले माथिको आदेशअनुसार प्रवेश रोकेको उल्लेख गरेकी छन्।

यो अवस्था उपप्रमुख महतोले सोमबार कार्यालयका महत्त्वपूर्ण कागजात कर्मचारीबाट खोसेर घर लगेको घटनापछि सिर्जना भएको बताइएको छ। उपप्रमुख महतोले अनुगमनका क्रममा ती कागजात माग गरेको दाबी गरेकी छन्। यस घटनाले नगरपालिकाको आन्तरिक वातावरण तनावपूर्ण बनेको छ।

नगरप्रमुखले उपप्रमुखलाई कार्यालय प्रवेश गर्न नदिने आदेश दिएको उनले बताएकी छिन् । ‘जनताबाट निर्वाचित प्रतिनिधिलाई अराजकता फैलाएर गुन्डा र लठैत शैलीमा गेट बन्द गरी प्रवेशमा रोक लगाइएको छ, यस्तो अवस्थामा मैले जनताको काम कसरी सम्पादन गर्ने ?’ उनले भनेकी छिन् ‘अनियमितताविरुद्ध आवाज उठाउँदा मलाई नगरपालिकाभित्रै प्रवेश गर्न रोकिएको छ।’

उपप्रमुख महतोले यो कदम अनियमितताविरुद्ध बोलेको कारण भएको दाबी गरेकी छन्। उनले गेटमै पुगेर नगरप्रमुखको निर्णयप्रति आक्रोश व्यक्त गरेकी छन्।

घटनाबारे बुझ्न नगरप्रमुख डा. दीपेन्द्र महतोसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन्। यस्तै, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले पनि फोन उठाएनन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१