• २०८३ असार ४
  • 2026 June 18, Thursday

रास्वपाको कांग्रेसलाई चुनौती : मान्छे बेचबिखन छानबिनको विषय होइन भने खुला रूपमा घोषणा गरौं

काठमाडौं । रास्वपाका प्रवक्ता मनिष झाले नागरिकता, शिक्षा, निजामतीलगायतका विधेयक समयको आवश्यकता भन्दै त्यसमा आफूहरूको राजनीतिक समर्थन हुने बताएका छन् ।

प्रतिनिधिसभा बैठक स्थगित भएपछि सदनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भिजिट भिसाको आवरणमा १८ वर्षदेखि जनता ठगिरहेको विषयमा छानबिन हुनुपर्ने अडान सुनाए ।

उनले सदनमा एक जना उभिएपनि विरोध मानिएर अगाडि चलाउन नहुने अहिलेको गृहमन्त्रीले आफू विपक्षीमा हुँदा भनेको कुरा स्मरण गराए ।

उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘त्यही विधेयक ल्याउने गृहमन्त्रीले गत वर्ष यही सदनमा उभिएर भन्नुभएको होइन ? एकजना प्रतिपक्ष उभिए पनि विरोध मानिनेछ सदन अगाडि नबढाइयोस् भनेर उहाँले नै बोल्नुभएको थियो । कि त्यो तर्क उहाँको लागि मात्रै थियो ? अरूको लागि होइन भन्नुपर्‍यो ।

’उनले कांग्रेसलाई भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको मुद्दा नै होइन भनेर भन्न चुनौती दिए । उनले भने, ‘कि हाम्रो लागि यो मुद्दा नै होइन, हाम्रो प्राथमिकता नै अर्कै छ ।

हामी मान्छे बेचिरहन चाहन्छौँ सधैँ भन्नुपर्‍यो । त्यसैले विधेयकहरूको महत्त्व बुझेर राजनीतिक समर्थन गर्छौँ । ’उनले भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको आवश्यक छानबिन र दोषीलाई कारबाही हुनुपर्ने अडान दोहोर्‍याए ।