• २०८३ असार ४
  • 2026 June 18, Thursday

‘असार १५ सम्म शिक्षा विधेयक पास हुनुपर्छ’ : ‘प्रचण्ड’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १५ सम्म शिक्षा विधेयक पास हुनुपर्ने बताएका छन् । समयमा विधेयक पास नभए शिक्षा क्षेत्र अराजकतातर्फ जान सक्ने बताएका हुन् ।

मंगलबार चितवनमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले संसदमा विचाराधीन कानुन निर्माण प्रक्रियामा अघि नबढ्न संसद अवरोध कायम रहन नहुने बताए ।

उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न तथा कानुन निर्माण अपरिहार्य रहेको कारण आफूहरूले भिजिट भिसा प्रकरणको अनुसन्धानसँगै अघि बढ्ने निर्णय गरेको पनि बताए । उनले भने, ‘अहिले संसदमा विचाराधीन ऐनहरूको बारेमा काँग्रेस र एमाले सरकारमा छन् । तपाईँहरूले अहिलेको अवरोधको कुरा हेर्नुभयो भने यो अवरोध रहिरहोस् भन्ने यो सरकारको नेतृत्व चाहन्छ । यो अवरोध नखुले हुन्थ्यो भन्ने चाहाना छ ।’

उनले संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सम्बन्धी बाँकी रहेका कानुनी कार्यहरू टुङ्ग्याउनु आफूहरूको जिम्मेवारी भएको कारण सहमतिमार्फत अघि बढेको समेत बताए ।

उनले आफू नेतृत्वको भूमिकामा रहेकाले अब ऐन निर्माणलाई प्राथमिकतामा राख्दै गम्भीर छानबिनसहितको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको कारण सहमति गरेको भए पनि गलत व्याख्या गरिएको दाबी गरे। असार १५ गतेसम्म विद्यालय शिक्षा पास गर्न नसके शिक्षा क्षेत्र झन् अराजकतातिर धकेलिने उनको भनाइ छ ।