• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

खानेपानी मन्त्रालयमा सरुवाको रन्थन: चार महिनामै तीन प्रमुख फेरिए, असारमा पनि स्थायित्व आएन

काठमाडौँ । जनकपुरस्थित संघीय खानेपानी आयोजनामा चार महिनाको अवधिमा तीन जना कार्यालय प्रमुख फेरिएका छन्। कार्यालय प्रमुख मात्र होइन, अधिकांश स्थायी कर्मचारीको सरुवा भएको छ भने करारमा कार्यरत चालक, कार्यालय सहयोगी र कम्प्युटर अपरेटरको जागिरसमेत गुमेको छ। यसले आयोजनाको प्रगति ठप्प भएको कर्मचारीहरू बताउँछन्।

खानेपानी मन्त्री प्रदीप यादवका निकट व्यक्तिलाई डिप बोरिङसम्बन्धी काम दिन नमान्दा आयोजना प्रमुखहरू लोकेन्द्रप्रसाद यादव , दीपेन्द्रकुमार साह र हरिप्रसाद शर्मालाई हटाइएको बताइन्छ। शर्माको स्थानमा मेलम्ची खानेपानी आयोजनाबाट जगरनाथ दासलाई पठाइएको छ।

लोकेन्द्रप्रसाद यादवको २०८१ फागुन १६ मा मेलम्ची खानेपानी आयोजनामा सरुवा भएको थियो। त्यसपछि निमित्त प्रमुख बनेका दीपेन्द्रकुमार साहलाई २०८१ चैत २८ मा खानेपानी विभागमा तानियो र महिनौँ जिम्मेवारीविहीन राखेर हालै शहरी विकास मन्त्रालयमा सरुवा गरियो।

२०८२ वैशाख ३ मा हरिप्रसाद शर्मालाई आयोजना प्रमुख बनाइएको थियो, तर ५६ दिनमै उनले केही करार कर्मचारी हटाएर सरुवा भए।दीपेन्द्रकुमार साहले आफ्नो सरुवाको कारणबारे सम्बन्धित निकायमा लिखित उजुरी नै दर्ता गराएका छन्।

सामान्यतया: आर्थिक वर्षको अन्त्यमा सरुवा गरिँदैन तर खानेपानी मन्त्रालयको हकमा भने यो मान्यताले पनि काम गरेन । कर्मचारी सरुवा मात्रै होइन, नियुक्ति र काममा देखिएका बेथितिहरुलाईसमेत अनदेखा गरेर सुशासनको रटान जारी राखिएको प्रति कर्मचारीहरू नै जिब्रो टोक्न थालेका छन् ।

कर्मचारीहरूका अनुसार मन्त्री यादवले आफ्नो स्वार्थअनुसार काम गर्न नमान्ने प्रमुखहरूलाई हटाउँदै आएका छन्। मन्त्रीका मौखिक आदेशलाई कर्मचारीले बेवास्ता गर्दा सरुवाको चपेटामा परेका छन्, जसले आयोजनाको कामकारबाही ठप्प भएको छ।