
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मानव बेचबिखनविरुद्ध सांकेतिक विरोधस्वरूप नीलो स्कार्फ लगाएर संसदमा उपस्थित भएपछि मंगलबारको संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच चर्को विवाद भएको थियो। रास्वपाको यो कदमलाई सत्तापक्षका सांसदले अमर्यादित भन्दै नियमापत्ति गरेपछि सभामुखले बैठक नै स्थगित गर्नुपरेको थियो।
संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाकी सांसद डा.तोसिमा कार्की, सोबिता गौतम र सुमना श्रेष्ठले शान्तिपूर्ण र सांकेतिक विरोधमाथि सत्तापक्षले देखाएको प्रतिक्रियाप्रति आश्चर्य र आक्रोश व्यक्त गरे। ‘आज हामीले मानव बेचबिखन र ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय अभियानको प्रतीक नीलो स्कार्फ लगाएका हौँ, यो सामान्य स्कार्फ लगाउँदा उहाँहरूलाई यति धेरै पोलेको छ, यति धेरै पीडा भएको छ। यो पीडा किन भयो भन्ने कुरा आम नेपाली जनताले बुझ्न जरुरी छ।’ तोसिमाले भनिन् ।
उनले विगतमा संसदभित्रै कुर्सी र माइक तोडफोड गर्ने, सांसदहरूबीच हातपात र चिथोर्ने जस्ता अराजक घटना हुँदा अमर्यादित नदेख्ने तर आफूहरूको सभ्य विरोधलाई अमर्यादित देख्नु पाखण्ड भएको बताइन्।
सांसद सोबिता गौतमले पनि सत्तापक्षको व्यवहारप्रति टिप्पणी गरिन्। ‘हामीलाई माइक भाँच्न, टेबल फोड्न आउँदैन। हामी सभ्य र शान्त तरिकाले विरोध गर्छौं ।’ उनले भनिन्, ‘विगतमा नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि हातपात गर्न पुगेको घटना ताजै छ। त्यस्तो गर्ने दलबाट आज स्कार्फ लगाएको कुरा अमर्यादित भयो भन्नु सुहाउँदो भएन।’
सांसद सुमना श्रेष्ठले सत्तापक्षको यो प्रतिक्रिया पछाडि उनीहरूको डर लुकेको आरोप लगाइन्। ‘पहिले नक्कली भुटानी शरणार्थी प्रकरण, अहिले यो मानव बेचबिखनको विषय, यी सबैमा उहाँहरूकै संलग्नता देखिन्छ ।’ उनले भनिन्, ‘कतै आफूहरूलाई तस्कर पार्टी भनेर लेबल लाग्छ कि भन्ने उहाँहरूलाई डर भएको हुनसक्छ।’