• २०८३ असार ४
  • 2026 June 18, Thursday

बजेट छलफलमा प्रशासकीय अधिकृतको अभाव, बालेनले बोलाएको बैठक रद्द

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज डाकेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द गरिएको छ ।

सदस्य सचिवसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई खबरै नगरी बैठक राख्ने बालेनको तयारीमा ब्रेक लागेको हो । उपमेयर, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले कार्यपालिकालगायतका बैठक राख्न मेयरलाई निरन्तर दबाब दिँदै आएका छन् ।

प्रशासनका कर्मचारीलाई प्रस्ताव तयार पार्न लगाएर उनले आज बिहान ११ बजेका लागि बैठक बोलाएका थिए । तर, सदस्य सचिवबिनाको बैठकबारे सदस्यहरूले वैधानिकताको कुरा उठाएपछि मेयर पछि हटेका हुन् ।समितिको सदस्यसमेत रहेकी कार्यपालिका सदस्य अनिता कार्की (ढोली) ले आजलाई बैठक डाकिएपनि मेयरको सचिवालयबाट नबस्ने सूचना आएको बताइन् ।

‘हिजो मेयरज्यूकै सचिवालयबाट बैठक भनेर खबर आएको थियो । आज फेरि नबस्ने भयो भनेर खबर गर्नुभयो । अब कहिले बस्छ थाहा छैन ।’प्रशासकीय अधिकृत गुरागाईँले पनि बैठक डाकिएकोबारे आफूलाई केही थाहा नभएको बताए ।