
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समय ३५ मिनेट लामो टेलिफोन वार्ता भएको छ। भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार, यो संवाद पहलगाममा भएको आतङ्कवादी हमलापछि दुई नेताबीच पहिलोपटक भएको कुराकानी हो।
वार्ताको क्रममा प्रधानमन्त्री मोदीले अपरेसन सिन्दूरबारे विस्तृत जानकारी दिँदै, भारतको आतङ्कवादविरुद्धको अडान स्पष्ट पारेका थिए। उनले भारतले आतङ्कवादलाई अब छदम युद्धको रूपमा नभइ प्रत्यक्ष युद्धकै रूपमा लिएको भन्दै अपरेसन अझै जारी रहेको बताएका थिए।
यसै सन्दर्भमा, मोदीले अमेरिका र भारतबीच कुनै पनि तहमा व्यापार सम्झौता वा भारत–पाकिस्तान सम्बन्धमा अमेरिकी मध्यस्थता जस्ता विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका थिए।
पूर्वराष्ट्रपति ट्रम्पले यसअघि भारत–पाकिस्तान युद्धविराममा आफूले भूमिका खेलेको दाबी गरेका थिए। तर मोदीले कडाइका साथ भारतले कहिल्यै मध्यस्थता नस्वीकार गरेको, गर्दैन र भविष्यमा पनि नस्वीकार गर्ने बताएका छन्। ‘यो विषयमा भारतमा पूर्ण राजनीतिक सहमति छ,’ विदेश सचिव मिस्रीले उद्धृत गर्दै बताए।
मोदीको स्पष्ट सन्देशलाई ट्रम्पले ध्यानपूर्वक सुनेको र भारतको आतङ्कवादविरुद्धको लडाइँप्रति समर्थन जनाएका पनि मिस्रीले जानकारी दिए।