इरानमाथि इजरायली हमलाको चर्चा भइरहेका बेला रूसको प्रतिक्रिया : शासन परिवर्तन स्वीकार्य छैन

इरानमाथि अमेरिकाको समर्थनमा इजरायलले हमला गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गर्ने योजना बनाएको चर्चा चलिरहेका बेला रूसले तीव्र प्रतिक्रिया दिएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले स्काई न्यूज सँगको अन्तर्वार्तामा इरानको शासन परिवर्तन अस्वीकार्य हुने भन्दै चेतावनी दिएका छन्। खामेनीको हत्या भए त्यसले पण्डोराको बाकस खोली दिन सक्ने खतरा रहेको उनले बताएका छन्।

पेस्कोभले स्पष्ट रूपमा भनेका छन्, “यदि इजरायलले अमेरिकाको सहयोगमा खामेनीको हत्या गर्छ भने हाम्रो प्रतिक्रिया अत्यन्तै नकारात्मक हुनेछ र हामी यसलाई कडा रूपमा अस्वीकार गर्नेछौं।”

रूसी पक्षले खामेनीको हत्या वा शासन परिवर्तनको प्रयासले विश्वमा अतिवादको बढोत्तरी हुने र स्थायित्वमा ठूलो संकट आउने चेतावनी दिएको छ।

अमेरिका र इजरायलले खामेनीको हटाइपछि इरानमा सन् १९७९ मा समाप्त भएको राजतन्त्र पुनःस्थापना गर्ने योजना बनाएको चर्चा पनि छ। सो योजनाअनुसार राजसंस्थाका उत्तराधिकारी रेजा पहलवीलाई राजा बनाउने तयारी भइरहेको बताइएको छ। पहलवी हाल अमेरिकामा बस्दै इरानी सत्ताविरुद्ध सक्रिय रूपमा बोलेका छन्।

रूस र इरानबीच लामो समयदेखि सुदृढ कूटनीतिक तथा सैन्य सम्बन्ध रहेका छन्, जसले युक्रेन युद्धपछि अझ बलियो रूप लिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१