
मनसुन सक्रिय भएसँगै देशभर लगातार परेको भारी वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले सडक यातायात प्रभावित पारेको छ। पछिल्लो जानकारीअनुसार पाँचवटा प्रदेशका विभिन्न जिल्लामा कम्तीमा १३ मुख्य राजमार्गका आवागमनमा असर परेको छ।
गृह मन्त्रालयका अनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केही सडकहरू एकतर्फी मात्र सञ्चालन भइरहेका छन्, जसले गर्दा यात्रुहरूलाई कठिनाइ भोग्नुपरेको छ।
अविरल वर्षाका कारण अरनिको राजमार्ग, महेन्द्र राजमार्ग, कालीगण्डकी कोरिडोर, राप्ती राजमार्ग तथा दाङ–सल्यान सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन्।
नेपाल प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ र यात्रुहरूलाई यात्रा सुरु गर्नु अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।