• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक नेकपा माओवादी केन्द्रको अवरोधका कारण ३० मिनेटका लागि स्थगित गरिएको छ।

बैठक सुरु हुनुअघि माओवादी केन्द्रले संसद् अवरुद्ध गरेको थियो। जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति, सहिद र बेपत्ता व्यक्तिहरूको मुद्दालाई बजेटमा सरकारले बेवास्ता गरेको भन्दै माओवादीले कडा विरोध जनाएको हो।

पूर्वमन्त्री एवं सांसद रेशम जुग्जालीले अर्थमन्त्रीको जवाफपछि आफूहरूका विषय गम्भीरतापूर्वक सम्बोधन हुने अपेक्षा गरेको तर नीति कार्यक्रम र बजेट वक्तव्य दुवैले जनयुद्ध पीडितको सवाल समेट्न चुकेको आरोप लगाए। उनले आर्थिक विधेयकले राज्यबाट दिइने केही सुविधासमेत कटौती गरेको बताए।

उनले भने, “नीति कार्यक्रममा न्यायसंगत बजेट वितरणको कुरा गरिए पनि रेड बुकमा कतै पनि त्यस्तो व्यवस्था देखिँदैन। सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूको मुद्दा पूर्ण रूपमा बेवास्ता गरिएको छ।”

यस्तै, सडक ऐनअनुसार सडक मर्मतका लागि छुट्याइनुपर्ने ३ प्रतिशत पुँजीगत बजेट समेत बजेटमा नदेखिएको भन्दै माओवादीले आपत्ति जनाएको छ। जुग्जालीले ऐनअनुसार बजेट नल्याएकोमा सरकारप्रति गम्भीर असन्तुष्टि जनाए।

माओवादी सांसदहरूले रोष्ट्रममै उभिएर जनयुद्ध पीडितहरूको न्यायको माग गर्दै असन्तुष्टि व्यक्त गरेका थिए। पार्टीले अर्थ मन्त्रालयले यथोचित सम्बोधन नगरेसम्म संसद् सञ्चालन हुन नदिने चेतावनी दिएको छ।